बालजागृतिका विद्यार्थीबीच गायन प्रतियोगिता

हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थीबीच गायन प्रतियोगिताको आयोजना गरेको छ । कक्षागत छनोट चरण पार गरी अन्तिम चरणमा सहभागी ७६ जनाले आफ्नो गायन कला प्रस्तुत गरेका छन् । सुनिता शर्मा लुइटेल र पूर्णविक्रम अधिकारीले अघिल्लो मंगलबार र आज मंगलबार दुई दिनमा विद्यार्थीको प्रस्तुतीपछि ३५ जना विद्यार्थीलाई छनोट गर्नुहुनेछ ।

कक्षा–१ देखि ३ सम्मका १५ जना, कक्षा ४ र ५ का ५ जना, कक्षा–६ देखि १० सम्मका १५ जना गरी ३५ जनाको एक समूह तयार पारिने विद्यालयका भाइस–प्रिन्सीपल अमूल श्रेष्ठले जानकारी दिनुभयो । ३५ जना विद्यार्थीको समूहको सहभागितामा विद्यालयले विद्यालय गीतसँगै दुईवटा बालगीत रेकर्डिङ गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । यस्तै दशैंअघि आयोजना गरिने साँस्कृतिक कार्यक्रममा पनि विद्यार्थीले गायनकला प्रस्तुत गर्नेछन् ।

गायनतर्फ घनश्याम ढकाल र वाद्यवादनतर्फ मनोज कुमार शाही प्रशिक्षकको रुपमा विद्यालयमा कार्यरत हुनुहुन्छ । विद्यालयमा गायन कला सिकेका विद्यार्थीबीच प्रतियोगितात्मक प्रस्तुतीले विद्यार्थीको व्यक्तित्व एवम् आत्मविश्वास बढाउने प्रयास भएको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीको प्रस्तुतीको मूल्यांकन गरिरहनुभएकी सुनिता शर्मा लुइटेलले गायनमा सहभागी विद्यार्थीको कलालाई अभिभावकले बुझेर नियमित प्रशिक्षणमा पनि जोड दिनुपर्ने प्रतिक्रिया दिनुभएको छ ।

Scroll to Top